छमछमी ३ बाट बाहिरिए विराटनगरका मनिष

काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता विराटनगरका मनिष कटुवाल बाहिरिएका छन् । विराटनगरबाट मेगा अडिसनका लागि काठमाडौं आइपुगेका मनिषले टप १० को प्रस्तुतिबाट सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि कम भोटका आधारमा उनी बाहिरिएका हुन् ।

यो राउण्डमा हेटौंडाका सरोज राना प्रजाले सबैभन्दा बढि भोट पाउने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर पाए । शोमा कलाकार शिल्पा पोखरेल र पुष्प खड्काको प्रस्तुतिले थप रोमाञ्चकता थपेको थियो । मनिषले नृत्य नशा–नशामा दौडिएकोले आगामी दिनमा यहि क्षेत्रमै लागिरहने र यसैमा आफ्नो भविष्य रहेको बताए । शोबाट बाहिरिंदै गर्दा उनले एल जि को ३२ इन्चको स्मार्ट टि भि पुरस्कारको रुपमा प्राप्त गरेका छन् । प्रतियोगितामा अब ४ जना पुरुष र ४ जना महिला प्रतिस्पर्धी मैदानमा छन् ।

यो रियालिटी शोमा प्रथम हुनेले डाट्सनको रेडि गो कार, द्वितीय हुनेले ५ लाख बराबरको एल जि होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख बराबरको एल जि होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एल जि स्मार्ट टि भि पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ भने बजारीकरण कि एडभरटाइजिङ सर्भिसेस प्रा. लि. ले गर्दै आइको छ । छमछमीको चौथो र पाँचौ श्रृंखला समेत प्रायोजन सम्झौता भैसकेको छ ।