माउथ पब्लिसिटीले मिष्टर झोलेमा दर्शक क्रेज

काठमाडौं । दयाहाङ राई र दिया पुन स्टारर फिल्म ‘मिष्टर झोले’ले शुक्रबार र शनिवार उत्साहजनक व्यापार गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले माघ १ गते पर्ने माघे संक्रान्तिको सार्वजनिक विदालाई पनि सुखद कलेक्सनमा बदल्ने फिल्मका वितरकहरुको दाबी छ ।

वितरक गोविन्द शाहीका अनुसार शुक्रबार बिहान हलमा फिल्मको ६० प्रतिशत अकुपेन्सी रहँदा दिउँसो र साँझ त्यो प्रतिशत बढेर ८० पुगेको थियो । उनले पुषको चिसोको पर्वाह नगरी दर्शकहरु फिलम हेर्न हलसम्म आइपुगेको बताए । ‘शनिवार जताततै शोमा आक्रामक दर्शक आएको खबर पाएका छौं । माघे संक्रान्तिको सार्वजनिक विदामा यो संख्या झन बढ्नेमा हामी विश्वस्त छौं । उनले भने,‘उपत्यका बाहिर पनि पनि दर्शकको चाप उस्तै बढी भएको रिर्पोट हामीले गाएका छौं ।’

गोविन्दले फिल्मको कमेडी, कलाकारको अभिनय र लोकेसनले पनि दर्शक तानेको बताए । योबाहेक फिल्मको गीत ‘कुटु कुटु खान्छ कलेजो’ले पनि दर्शकमा फिल्म हेर्न उत्सुकता बनाएको बताए । फिल्मका निर्देशक रामबाबु गुरुङले दर्शकले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ जत्तिकै ‘मिष्टर झोले’लाई पनि मनपराइदिएको बताए । ‘आइतवारबाट माउथ पब्लिसिटीले हलमा दर्शक आउँछन् भन्नेमा हामी विश्वस्त छौं ।’ उनले भने । शनिवार राजधानीका विभिन्न हल पुगेर नायक दयाहाङ राई, नायिका दीया पुन लगायतका कलाकारले दर्शकसँगै बसेर फिल्म हेरेका थिए ।

टेकेन खड्का निर्माता र रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।