कमाईलाई यसरी खर्च गर्छन् बलिउड कलाकार

मुम्बई(एजेन्सी) । कलाकारको जिन्दगी अक्सर पार्टी सहभागी हुनु र आफ्नो प्रशंसकलाई अटोग्राफ दिनुमै बित्दछ । तर उनीहरुको जिन्दगी त्यो भन्दा पनि अझै केही अगाडि पनि छ । उनीहरुको रुची समाजसेवामा पनि उत्तिकै हुन्छ । उनीहरु सुविधाबाट बञ्चित, पिछडिएका र अभावको जिन्दगी बाँचिरहेका मानिसका लागि सहयोग गर्न पछि हट्दैनन् । बलिउडमा यस्ता केही स्टार छन्, जो सक्रिय कलाकारिताबाट समय छुट्याएर समाजसेवामा पनि उत्तिकै व्यस्त छन् ।

नाना पाटेगर
नाना अभिनयमा मनोरञ्जनका अलावा आवश्यक अवस्थामा समाजसेवामा पनि सक्रिय छन् । उनले आम मानिसलाई सहयोगको गुहार नगर्ने निर्धन व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा आफ्नो कामबाट सिकाउँछन् । उनले जीवनको कमाईको ९० प्रतिशत कमाई किसानको उन्नतिका लागि दान गरेका छन् । नाना जहिल्यै पनि ती दुःखी किसान परिवारको साथमा हुन्छन्, जसको परिवारमा कमाउने व्यक्तिले परिस्थितिजन्य अवस्थामा आत्महत्या गरेको छ । नानाले यस्ता ६२ परिवारलाई १५ हजार रुपैंयाँ दान दिएका छन् ।

कमल हसन
एक असाधारण कलाकार भएर पनि कमल हसन एड्स पीडित बालबालिकाका लागि सहयोग गर्छन् । आफ्नो कुनै गल्ती बिना नै ठूलो रोग शरीरमा पालेर बसेका बालबालिकालाई उनी सहयोग गर्न अग्रसर हुन्छन् । २०१० मा उनलाई हृदयरागमको एक परियोजनाको मेनेजर बनाएपछि उनी बालबालिका लागि सक्रिय भएका हुन् । यो परियोजनाले हृदय शल्य चिकित्सा र एड्स पीडित बालबालिकाका लागि आर्थिक संकलनको काम गर्दछ । उनले ती अनाथ बच्चाका लागि ठूलो रकम सहयोग गरेका थिए । त्यो सम्पूर्ण रकम एड्स पीडित अनाथ बालबालिकाको सहयोगका लागि खर्च भएको थियो ।

अक्षय कुमार
समाजसेवाको मामलामा अक्षय कुमार पनि उत्तिकै सक्रिय छन् । उनले महाराष्ट्र राज्यमा सुख्खा पीडित किसानले आत्महत्या गर्न थालेपछि संकटग्रस्त परिवारका लागि आर्थिक सहयोग गर्न अग्रसर भए । उनले एउटा गाउँ नै आफ्नो जिम्मामा लिएर आत्महत्या गर्ने क्रमलाई रोके । उनले १ सय ८० परिवारलाई ९० लाखको आर्थिक सहायता प्रदान गरे । जुन धेरै निर्धनता ग्रस्त थिए । उनले आत्मरक्षा शिविरको शुरुवात गरेर ४ हजार अधिक महिलालाई निशुल्क प्रशिक्षण पनि दिए । उनले १ दशमलब ८ करोड रुपैंयाँको रकम देशका १२ जना सैनिक सहिद परिवारलाई दिएका थिए ।

सुस्मिता सेन
पूर्व विश्व सुन्दरी सुस्मिता दुई छोरीकी एक अविवाहित आमा हुन् । सन् २००० मा उनले रिनीलाई धर्मपुत्रीका रुपमा लिएकी थिइन् । यो बेला सुस्मिताको उमेर २५ वर्षको मात्र थियो । उनले २००९ मा तीन महिनाकी अलिशालाई पनि धर्मपुत्रीका रुपमा स्वीकारिन् । उनले बालिकाहरुलाई स्वीकारेकी मात्र छैनन् । आफूजस्तै काम गर्न अन्यलाई पनि प्रेरित गरेकी छन् ।

शाहरुख खान
अभिनयमा पोख्त शाहरुख खान समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले उडिसा राज्यका १२ गाउँलाई आफ्नो जिम्मामा लिएर विद्युत्तीकरणको काम गरे । उनले यी गाउँलाई अझैं विकसित बनाउन धेरै योजना पनि बनाएका छन् । उनले नानावती अस्पतालमा पनि सहयोग गरेका छन् । यो अस्पतालमा बोनम्यारो प्रत्यारोपण र जन्मदात्री केन्द्रको रुपमा स्थापित अस्पताल हो । उनले आइपीएल ७ को सम्पूर्ण रकम मुम्बई र कोलकातामा क्यान्सर अस्पतालमा दान गरेका छन् ।

प्रियंका चोपडा
प्रियंकाले बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीका रुपमा मात्र आफूलाई स्थापित गरेकी छैनन् । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । युनिसेफको सद्भावना दुत भएसँगै भारतभर सुविधाबाट बञ्चित अभिभावकका सन्तानको स्वास्थ्य र शिक्षामा सहयोग गर्न प्रियंका चोपडा फाउण्डेसन पनि चलाउँछिन् । उनले मृत्युपछि आफ्नो अंगदान गर्ने निर्णय पनि गरिसकेकी छन् । यी कलाकारबाहेक काजोल, गुल पनाग, राहुल बोस, जोन अब्राहम र शवाना आजमीलगायतका कलाकार पनि समाजसेवामा सक्रिय छन् ।