दर्शक प्रतिक्रियाबाट निखिल सन्तुष्ट

काठमाडौं । एक्सन स्टारको छवि बनाएका नायक निखिल उप्रेतीको एक्सनले भरिपूर्ण फिल्म ‘पिँजडा ब्याक अगेन’ले शुक्रबार र शनिवार ६६ लाखको ग्रस कलेक्सन गरेको छ । वितरक गोपालकाजी कायस्थका अनुसार फिल्मले शुक्रबार राजधानीमा १२ लाख र शनिबार २६ लाखको कारोबार गरेको हो ।

शनिबार राजधानीमा सिंगल थिएटर हाउसफूल थिए । दर्शक प्रतिक्रिया बुझ्न हलमा पुग्दा नायक निखिल र नायिका सारा सिरपाली दर्शकमाझ घेरिएका थिए । ‘फिल्म हेर्ने दर्शकबाट पाएको प्रतिक्रियाले सन्तुष्ट छु,’ निखिलले भने,‘एउटा कलाकारको सफलता भनेको नै दर्शकको मन जित्नु हो ।’ फिल्म निर्माण युनिटका अनुसार मोफसलबाट दुई दिनमा २८ लाखको कारोबार भएको रिर्पोट आएको छ । निर्देशक हिमालले चिसोको परवाह नगरी दर्शक फिल्म हेर्न हलमा आएको बताए ।

श्रीराम बरालको प्रस्तुतीमा तयार फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्मातामा छन् । सौरभ लामाको छायाँकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा निखिल र सारासँगै सुस्मिता केसी, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदिप दाहाल, पुकार भट्टराइ, कुशाग्र भट्टराई, सुन्दर श्रेष्ठ लगायत लिड रोलमा छन् ।