हुर्रेको पशुपतिमा नीताको यस्तो आइटम

काठमाडौं । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’को दोस्रो गीत ‘पशुपति’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा फिल्म युनिट र पत्रकारमाझ गीत सार्वजनिक गरियो । आइट्म फ्लेबरको गीतमा नायिका नीता ढुंगाना, राजाराम पौडेल र अंकित खड्काले अभिनय गरेका छन् । गीतमा सबिन एकतारेको शब्द, कालीप्रसाद बास्कोटाको संगीत र काली तथा झुमा लिम्बूको स्वर छ । गीतमा विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

कार्यक्रममा उपस्थित नीताले राजाराम, अनुपविक्रम शाही र अंकितका साथमा नृत्य पनि गरेकी थिइन् । उनले आफूलाई फिल्मको नामले नै आकर्षित गरेकोले आइटम डान्स गरेको खुलाइन् । ‘म भन्दा सिनियर राजाराम दाइसँग फिल्ममा नृत्य गर्न पाए । गीत छायाँकन गर्दा केहि दुःख पाए पनि अहिले गीत हेर्दा दुःख गरेको सार्थक लागेको छ ,’उनले भनिन्,‘ गीतमा मैले पशुपति वरपर पाइने पात्रलाई चित्रण गर्दै दिइएको निर्देशनलाई न्याय गर्ने कोसिस गरेकी छु ।’

फिल्मका लेखक तथा निर्देशक यम थापाले फिल्ममा समाजको कथालाई ‘डार्क कमेडी’शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताए । ‘समाजकै तीन पात्रको भोगाई नै फिल्म हुर्रे हो । गीतलाई राम्रो बनाउने कोसिस गरेका छौ ’ उनले भने । निर्माताले दावा शेर्पाले फिल्म राम्रो बनाउन आफूले कुनै किसिमको सम्झौता नगरेको दाबी गरे । ‘त्यसैले गीतमा पनि चिनिने फेस चाहिने भएकोले नीताजीलाई आग्रह गरेका हौ । फिल्म दर्शकको रुचि अनुसार नै बनाउने कोसिस गरेका छौ ’ उनले भने ।

याखा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानी छ । फिल्ममा विजय बराल, संगीता नापित, प्रकाश घिमिरेको पनि अभिनय छ । फिल्ममा कालीप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, चन्दन दत्तको सम्पादन र शिव ढकालको छायांकन छ ।