सुल्तानलाई तेहरानमा तीन अवार्ड

मुम्बई(एजेन्सी)। भारतीय बक्स अफिसमा ३ सय करोड बढी कमाई गरेको सलमान खान अभिनित फिल्म ‘सुल्तान’ले तेहरान इन्टरनेशनल स्पोर्ट्स फिल्म फेस्टिवलमा तीन अवार्ड जितेको छ । एक आधुनिक रेसलरको भावनात्मक कथालाई प्रस्तुत गरिएको फिल्ममा अली अब्बास जफरको निर्देशन छ ।

फिल्मलाई नेरेटिभ सेक्सनमा तीन अवार्ड मिलेको हो । सलमानलाई यो फेस्टिभलमा ‘बेस्ट एक्टर’को अवार्डसँगै मानार्थ स्नातकको उपाधि पनि दिइएको थियो । सलमानले ‘बेस्ट एक्टर’को अवार्ड पाउँदा अनुष्का शर्माले ‘बेस्ट एक्ट्रेस’ र निर्देशक अलिले ‘बेस्ट डायरेक्टर’को अवार्ड जिते ।

निर्देशक अलीले सुल्तानले संस्कृति र भाषाको सीमा भन्दा पर बसेर एउटा दमदार कथा प्रस्तुत गरेको बताए । फिल्मले कुस्ती खेलले एउटा मानिसको जीवनमा ल्याएको परिवर्तनलाई पनि चित्रण गरेकाले फिल्मको महत्व रहेको अलीको दाबी थियो । बुसान इन्टरनेशनल फिल्म फेस्टिवल’मा सुल्तानलाई ‘स्टण्डिङ ओवेशन’को अवार्ड पाउँदा ‘संघाई फिल्म फेस्टिवल’मा फिल्मको तारिफ भएको थियो ।

सन् २०१६ मा रिलिज फिल्म ‘सुल्तान’ले घरेलु बक्स अफिसमा ३ सय करोड दशमलब ४५ लाख रुपैंयाँको लाइफटाइम कलेक्सन गरेको थियो । सलमानको सुल्तानबाहेक ‘बजरंगी भाईजान’ र ‘टाइगर जिन्दा है’ले पनि ३ सय करोड बढी रकम कमाईसकेको छ ।