बेण्ड बाजा बजाउँदै नाजिर !

काठमाडौं । नेपाली फिल्ममा पछिल्लो समयमा रुचाइएका अभिनेतामा पर्छन्, नाजिर हुसेन । फिल्ममा प्रायः मधेसी चरित्रमा देखिने यी कलाकार पछिल्लो पटक फिल्म ‘राज्जा रानी’मा राज्जाको भूमिकामा देखिएका थिए । यिनै नायक नाजिर अब दर्शकमाझ बेण्ड बाजा बजाउँदै दर्शकमाझ आउने भएका छन् ।

बुधबार राजधानीमा घोषणा गरिएको नयाँ फिल्म ‘गरुड पुराण’मा नाजिर बेण्ड बाजा बजाउने कलाकारको रुपमा देखिँदैछन् । ‘यस्तो चरित्र फिल्मका लागि मेरो पहिलो हो,’नाजिरले खुलाए,‘यो फिल्ममा मेरो पिता बेण्ड बाजा बजाउने व्यवसायमा हुनुहुन्छ । म उहाँकै बिडो थाम्नका लागि बेण्ड बाजा बजाउँछु ।’

अजित फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा सुवास कोइराला र सुशन प्रजापतिको निर्देशन रहनेछ । ‘आफ्नो अस्तित्वको खोजीमा हुने चरित्रको कथालाई फिल्ममा रमाइलो तरिकाले देखाइनेछ,’निर्देशक सुवासले भने,‘फरक पृष्ठभूमिबाट आएर काठमाडौंमा बाँचिरहेका अथवा बाँच्न चाहनेको लागि गर्ने संघर्षको कथा फिल्ममा हुनेछ ।’

अजित प्रजापति र अशोक गौतमको लगानी रहने फिल्ममा कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे र बसन्त भट्टको अभिनय रहनेछ ।

माघ ११ गतेबाट फ्लोरमा जाने फिल्ममा अशोक गौतम सह निर्माता, कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खतिवडा, आकाश बरालको संवाद, कोशिस क्षेत्री र सजित श्रेष्ठको संगीत, उज्जवल ढकालको सम्पादन र सुशन प्रजापतिको छायांकन हुनेछ । फिल्म काठमाडौं आसपासको क्षेत्रमा सुटिङ गरिनेछ ।