छमछमीबाट बाहिरिए दाङका जीवन

काठमाडौं । नेपाल टेलिभिजनबाट निर्माण भई प्रसारण भईरहेको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता दाङका जीवन बुढाथोकी बाहिरिएका छन् । दाङको अडिसनबाट काठमाडौंको छमछमी यात्रा तय गरेका जीवनले टप ७ सम्म आइपुग्दा आफ्ना विविध प्रस्तुतिबाट निर्णायक एवं दर्शकलाई मन्त्रमुग्ध पार्दै आएतापनि दर्शकबाट प्राप्त एसएमएस भोट उनलाई अघिल्लो राउण्डसम्म पु¥याउन सकेन । जीवनको टप ७ को प्रस्तुतिमा उनी वास्तविक अस्वस्थ्य हुँदा हुँदै पनि उनको प्रस्तुति पनि मानसिक रुपमा अस्वस्थ व्यक्तिको जीवनकथामा आधारित रहेर बुनिएको थियो ।

साथीसँग मिलेर युट्युब हेर्दै नृत्य सिकेका उनले भारतका थुप्रै स्थानीय प्रतियोगितामा भाग लिई प्रथमसमेत भएका छन् । जीवन ३२ इन्चको एलजि स्मार्ट टिभि बोक्दै घर फर्किएका छन् । यति ठूलो फ्लोरमा सिक्ने र प्रस्तुति दिने मौका पाएकोमा जीवनले भित्री मनबाटै निर्णायकमण्डल, कोरियोग्राफर, प्राबिधिक, छमछमी टिम र नेपाल टेलिभिजनलाई विशेष धन्यबाद दिन छुटाएनन् । घर फर्किंदै गर्दा सम्पूर्ण दर्शक र भोट दातालाई समेत धन्यवाद दिँदै उनले ‘छमछमी ४’ मा भेट्ने बाचा पनि गरे ।

रियो छमछमी ३ निर्माण कोर कमिटी सदस्य एवं मिडिया संयोजक रामबाबु अधिकारीका अनुसार सो राउण्डमा सुनसरीकी मनिता राईले सबभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरिन् । प्रतियोगितामा अब दाङका एलेक्स बिक, झापाकी केबिका खत्री, सुनसरीकी मनिता राई, मकवानपुरका सरोज प्रजा, सुर्खेतका शेखर घर्ती मगर र रामेछापकी रबिता मगर मैदानमा छन् ।

रियालिटी शोमा प्रथम हुनेले डाट्सनको रेडि गो कार, द्वितीय हुनेले ५ लाख बराबरको एल जि होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख बराबरको एल जि होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजि स्मार्ट टिभि पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।