बोण्ड सिरिजका सफल अभिनेता कोनरीको निधन

लसएन्जल्स(एजेन्सी) । जेम्स बोण्डको सातवटा सिरिजका सफल अभिनेता सर सीन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । जेम्स बोण्ड सिरिजका सात फिल्ममा अभिनय गरेर लोकप्रिय बनेका यी अभिनेताले अभिनयमा ४० वर्ष बिताएका थिए । उनले ‘द विण्ड एण्ड द लायन’, ‘द मेन हू वुड बी किङ’ र ‘इण्डियाना जोन्स एण्ड लास्ट क्रुसेड’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

उनले सन् १९८७ को फिल्म ‘द अनटचेबल्स’का लागि सहायक कलाकारका रुपमा अस्कर अवार्ड जितेका थिए । आफ्नो लामो करियरका बाबजुद उनी जहिल्यै डिमाण्डेड अभिनेता रहे । सन् १९९९ मा उनलाई पीपल मेगजीनद्वारा ‘स्मार्टेस्ट मेन अफ सेन्चुरी’बाट सम्मान गरिएको थियो । यसबाहेक उनले फिल्म ‘एन्टरेपमेन्ट’मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनले आफूभन्दा निकै कान्छी अभिनेत्री केथरीना जेटा जोन्ससँग अभिनय गरेका थिए ।

शुरुवाती दिनमा उनले आफ्नो शरीरलाई निकै फिट राखेका थिए । सन् १९५६ मा उनले बीबीसी प्रोडक्सनको फिल्ममा काम पाए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनले अभिनेत्री डियेन क्लाइण्टोसँग विवाह गरेका थिए । त्यसपछि सन् १९७६ मा उनीहरुले डिभार्स गरे । यसपछि केनरीले दोस्रो विवाह गरे । यो विवाहबाट उनको एक छोरा जन्मियो ।

उनको जन्म एडिनबर्गमा आइरिस परिवारमा भएको थियो । गरिबीको कारण उनले शिक्षा पुरा गरेनन् र किशोरावस्थामा नै विद्यालय छोड्नु पर्यो । त्यसपछि उनी एक मजदुरको रुपमा काम गर्न लागेका थिए । उनी १७ वर्षको उमेरमा रोयल नेभीमा भर्ना भए । तर गम्भीर अल्सरका कारण उनलाई तीन वर्षपछि बिदाई गरियो ।