मन मनै त होमा ध्रुव र अमिका

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘मन मनै त हो’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत छ ।

युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा बनेको भिडियोमा अभिनेता ध्रुव दत्त र अमिका महत क्षेत्रीको अभिनय छ । लण्डनमा आयोजित कार्यक्रममा काव्या श्रेष्ठ र बृष्टि पुन श्रेष्ठले भिडियो सार्वजनिक गरेका थिए ।

‘मिसेस नेपाल यूके’मा सहभागी भइसकेकी अमिकाको यो डेब्यू प्रोजेक्ट हो । म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले कुशलको निर्देशकीय क्षमता र गाइडेन्समा काम गर्न निकै सहज भएको बताए । वक्ताहरुले बेलायतमा सीमित श्रोत र साधनका बीचपनि म्यूजिक भिडियो निरन्तर आइरहनु नेपाली गीत–संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखे ।

पहिलोपटक म्यूजिक भिडियोमा अभिनय गरेकी अमिका नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी छोरी हुन् । अमिकाले म्यूजिक भिडियो हेरेर आफ्नो पहिलो प्रयासमा भएका कमी कमजोरी औंल्याइदिन आग्रह गरेकी छन् ।कार्यक्रमकै अवसरमा टिम मेम्बर आशिष श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो । कार्यक्रममा इनास यूकेले कलाकारलाई सम्मान गरेको छ ।