बन्धक बनिन् वर्षा !

काठमाडौं । सुन्दरी तथा व्यस्त नायिका वर्षा शिवाकोटी बन्धकमा परेकी छन् । वर्षा बन्धक बन्नुको कारण केही खुल्न सकेको छैन । के कारणले वर्षा बन्धक भइन् भन्ने थाहा पाउन दर्शकले आगामी साउन १ गते फिल्म ‘जय शम्भु’ हेर्नै पर्ने हुन्छ । हाल फ्लोरमा रहेको फिल्मको यतिबेला चलचित्र विकास कम्पनी बालाजुमा धमाधम छायांकन भईरहेको छ ।

फिल्मका मुख्य कलाकारहरु अनुपविक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको परिचयात्मक एक्शन सिन खिचिएको छ । फिल्मको शुटिङ एक साथ चार क्यामराले भईरहेको छ । फिल्मका निर्माण टिमले एक्शन र गीतमा मात्र नभई पुरै फिल्ममा चार क्यामरा प्रयोग हुने जनाएको छ । फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठले फिल्ममा एक्शनको नयाँ अपडेट शुरु गर्न लागिएको बताएका छन् ।

उनले गाडीलाई रिङ्गमा घुमाउने, १० फिट उचाईमा गाडी उडाउनेलगायतका दृश्यहरु फिल्ममा राखिने बताए । फिल्मका निर्देशक रुपेश तामाङले एक्शन बलिउडकै स्टाईलमा नेपालमा पहिलो पटक खिच्न लागेको दावी गरे । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता छन् भने कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन छन् । फिल्ममा हरि घले लामाको छायांकन छ । फिल्म साउन १ गते रिलिज हुँदैछ ।