महिला हिंसाविरुद्ध खिल

काठमाडौं । महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो ।

बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडियाले निर्माण गरेको हो । राजु थापा काउचाले लेखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए ।

खिलजस्तै डढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेतना फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक राईले बताए । ‘महिला हिंसालाई संविधानले निर्मुल गरे पनि समाजमा अझै खिल बनेर बसेको छ । जनतामा चेतना फैलाउँदै महिला हिंसा निर्मूल बनाउन सघाउन ‘खिल’ मञ्चन गरेका हौं,’ उनले भने ।

उनले जबसम्म हामीमा चेत आउँदैन तबसम्म संविधान, कानुनले मात्रै महिला हिंसा उन्मूलन गर्न नसक्ने बताए ।