निर्देशकबाट कवि बने दयाराम

काठमाडौं । फिल्म निर्देशनमा छुट्टै पहिचान बनाएका निर्देशक दयाराम दाहाल साहित्यपारखीमाझ कवि बनेर आएका छन् । फिल्ममा कथा र गीत लेखन विधामा सक्रिय उनले कवितासंग्रह ‘शब्द–संग्राम’ पाठकमाझ ल्याएका छन् ।  राजधानीको गहना पोखरीमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेल, संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा लिखित कविता सग्रह लोकार्पण गरेका हुन् ।

मन्त्री पोखरेलले नेपाली फिल्म क्षेत्रमा दयारामको नाम उच्च रहेको जनाउँदै उनको कविता संग्रह राजनीतिक गर्ने मानिसका लागि उपयुक्त हुने बताए ।  डिकुरा पब्लिकेशनद्धारा प्रकाशित संग्रहमा निर्देशक तथा लेखक दाहालले आफ्नो फिल्म क्षेत्रको शरुवाती कालखण्डदेखि वर्तमान अवस्थासम्मको कुराहरु उतारेका छन् । एकसय पचास पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले सुनाए ।