‘ब्लाइण्ड रक्सबाट सन्तुष्ट छु’

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ब्लाइण्ड रक्स’ले सोचे जस्तो व्यापार गर्न नसकेपनि यसका निर्माता निकेश लिम्बु खुशी छन् । एउटी दृष्टिविहिन सृष्टि केसीको जीवनीमा आधारित रहेर बायोपिक फिल्म बनाउनु चुनौतिपूर्ण रहेको अवस्थामा त्यो चुनौतिलाई पार लगाउँदै फिल्मलाई हलसम्म ल्याउनु उनको बुझाईमा उपलब्धिमूलक छ ।

फिल्मको नेपाल प्रिमियरमा सहभागिता जनाउन केही समय अघि यूकेबाट नेपाल आइपुगेका निकेशले शनिवार राजधानीमा केही पत्रकारसँग आफू फिल्मबाट सन्तुष्ट रहेको बताए । ‘फिल्मले सोचेजस्तो व्यापार गर्न सकेको छैन । मैले व्यावसायिक भन्दा पनि एउटा सामाजिक सन्देशमूलक फिल्म बनाउने कोशिस गरेको हुँ,’आइतबार यूके फर्किन लागेका उनले भने,‘मैले यो फिल्म आत्मसन्तुष्टिका लागि बनाएको हुँ । त्यसकारण ब्लाइण्ड रक्सले लगानी रिकभर गर्न सकेन भन्दा पनि फिल्मले मलाई सन्तुष्टि दिएको छ । म यसमै खुशी छु ।’

पूर्व ब्रिटिस लाहुरेका छोरा निकेशले दृष्टिविहिन सृष्टिको बायोपिक पछि भविष्यमा ब्रिटिस गोरखा लाहुरेकै कथामा फिल्म बनाउने बताए । उनले आफ्नो व्यानर एन फिल्मस् एण्ड क्रिएसनबाट चाँडै नै व्यावसायिक फिल्म बनाउने जानकारी दिँदै त्यसका लागि यूकेमै योजना बनाउने काम भइरहेको बताए । नेपाल अघि यूके, मकाउ, हङकङलगायतका मुलुकमा फिल्मको प्रिमियर गरिसकेका निकेशले विदेशमा गरिएको प्रदर्शनले लगानी केही मात्रामा रिकभर हुने दाबी गरे । ‘फिल्ममा लगानीको करिब ७० प्रतिशत रिकभर भइसकेको छ,’उनले भने,‘माउथ पब्लिसिटीका कारण पनि नेपालमा फिल्म अब राम्रो जानेमा ढुक्क छु ।’

मिलन चाम्स निर्देशित फिल्मलाई अष्ट्रेलियालगायतका मुलुकमा रिलिजका लागि सम्झौता भइसकेको जनाउँदै निकेशले यूके फर्किएपछि त्यहाँका दुई विश्वविद्यालयमा फिल्म रिलिजको तयारी भइरहेको खुलाए । आफ्नो व्यानरबाट यसअघि निकेशले यसअघि ‘हँसिया’ र ‘रातो घर’ निर्माण गरिसकेका छन् । फिल्म ‘ब्लाइण्ड रक्स’मा बेनिशा हमाल, गौरी मल्ल, अर्पण थापा, अनिल शाहलगायतको अभिनय छ ।