‘हिरोज् बनाउँदा दुःख पाएँ’

काठमाडौ । नायिका तथा निर्मात्री पूर्णिमा लामाले आफूले फिल्म ‘हिरोज्’ बनाउँदा धेरै दुःख पाएको बताएकी छन् । फिल्मको टे«लर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले आफू चाहेर निर्माता नबनेको समेत खुलाइन् । ‘मैले हिरोज् बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै फिल्म बन्दो रहेनछ,’ उनले रुँदै भनिन्,‘मेहनतअनुसार फिल्म निकै राम्रो बनेको छ । फिल्ममा बेरोजगारीको पीडा, मानव बेचबिखन, सामाजिक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’

फिल्ममा एनबी महर्जनको निर्देशन छ । कार्यक्रममा फिल्मको ट्रेलरसहित फिल्ममा समाबेश चार वटा गीत देखाइएको थियो । अभिनेत्री करिश्मा मान्नधरले आफूलाई हिरोज्को स्क्रिप्ट निकै मन परेको बताइन् । ‘हिरोज्मा मनोरञ्जन मात्र नभई समाजोपयोगी सन्देश पनि छ । त्यसैले मैले निकै मन लगाएर काम गरेकी छु,’फिल्मको आफू पनि एउटा हिरो भएको जनाउँदै उनले भनिन्,‘फिल्म राम्रो बनेको छ । आम दर्शकलाई यो फिल्मले छुने विश्वास मलाई छ ।’

फिल्मका अभिनेता तथा कथाकार संजोग राणाले कार्यक्रममा निर्देशक एनवी महर्जन उपस्थित नभएकोमा चित्त दुखाए । ‘उहाँले आफूले बोलेको कुरा पुरा गर्न सक्नु भएन । त्यसैले हामीले बारम्बार खबर गर्दा पनि आउनु भएन । उहाँलाई धन्यवाद,’ उनले भने । अर्का निर्माता शेखर लामाले आफूहरुले निकै मिहीनेत र ध्यान लगाएर फिल्म निर्माण गरेको भन्दै सुखद अपेक्षा राखेको बताए ।

फिल्ममा करिश्मा मानन्धर, जयकिशन बस्नेत, पूर्णीमा लामा, संजोग राणा, कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्म शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् । फिल्मको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । फिल्ममा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्म सुनील मानन्धर, रोहीत कट्टेल र रत्न श्रेष्ठले बितरण गर्दैछन् ।