गाँजाबाजा हँसाउने फिल्म !

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘गाँजाबाजा’को टिम हाल देश दौडाहामा छ । फिल्मले पोखराबाट यसको प्रचारप्रसार सुरु गरिसकेको छ । फिल्मका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापालगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो फिल्मको पत्रकार भेटघाट भयो ।

निर्देशक पाण्डेले फिल्म पारिवारिक र हास्य प्रधान भएको बताए । फिल्मको ट्रेलरमा बिप गरिएको बारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक पाण्डेले सिनेमामा त्यस्ता कुराहरु नरहेको बताएका छन् ।पोखराबाट सुरु भएको मोफसल यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुनेछ । निर्देशक पाण्डेका अनुसार गाँजा बाजाको सोमबार बिराटनगर र दमक, मँगलबार धरानमा पत्रकार भेटघाट राखिएको छ । एक वर्षसम्म अदालतमा मुद्वा लडेको फिल्म ‘गाँजा बाजा’ अदालतबाट मुद्वा जितेर दर्शकमाझ आउन लागेको हो ।

यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्म पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । गाँजा बाजालाई सँगै बसेर हेर्दा अभिभावक देखि सन्तानसम्मले सकरात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए । फिल्ममा शुशिल सिटौला, वर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।