रामी रेड्डीः पत्रकारदेखि भिलेनसम्म

मुम्बई(एजेन्सी) । बलिउडमा कैयौं यस्ता कलाकार आए, जसले आफ्नो अभिनयको छाप फ्यानको हृदयमा छोडे । उनीहरुले फिल्मी स्क्रिनमा आफ्नो भूमिका यति बलियो गरी स्थापित गरिदिए कि मानौं लेखकले त्यो भूमिका उनीहरुकै लागि लेखिदिएका थिए ।

ठूलो पर्दामा अमरीश पुरीदेखि लिएर प्राणसम्म कैयौं यस्ता दिग्गज अभिनेता छन्, जो आफ्नो भिलेन भूमिकामा यस्तो किसिमले डुबे कि उनीहरुलाई प्रत्यक्ष देख्दा पनि दर्शक डराउँथे ।

यही खतरनाक अनस्क्रिन भिलेनको सूचीमा अभिनेता रामी रेड्डीको नाम पनि लोकप्रिय छ, जसले ठूलो पर्दामा केवल भिलेनको भूमिकामा मात्र आफूलाई उभ्याए । कसरी एक सोझो पत्रकार रामी रेड्डी फिल्म उद्योगमा सबैभन्दा खतरनाक ‘कर्नल चिकारा’ बने । यसको कथा आफैंमा रोचक छ ।

फिल्म चाहदैन थिए रामी
रामीको जन्म १ जनवरी १९५९ मा चित्तुर जिल्ला, आन्ध्र प्रदेशमा भएको थियो । उनको पुरा नाम गंगासानी रामी रेड्डी थियो । सन् १९८९ मा तेलुगु फिल्मबाट अभिनयको सुरुवात गरेका रामीको हिन्दी फिल्म प्रति चासो थिएन ।

उनी पत्रकारका रुपमा आफ्नो करियर बनाउन चाहन्थे, त्यसकारण उनले उस्मानिया युनिभर्सिटी, हैदराबादबाट पत्रकारितामा डिग्री लिएका थिए । डिग्री हासिल गरेर उनले एक पत्रिकाका लागि काम गरे । उनी यो पत्रिकामा प्रायः फिल्म स्टारको अन्तरवार्ता लिन्थे ।

कोडीले बनाए भिलेन
कहिल्यै अभिनयबारे नसोचेका रामीको भाग्यले उनलाई त्यो बेला फिल्मी दुनियाँमा तान्यो, जब उनी दक्षिण भारतको प्रख्यात निर्देशक कोडी रामाकृष्णको अन्तरवार्ता लिन गए । रामीको व्यक्तित्वबाट निर्देशक यति प्रभावित भएकी कि उनले आफ्नो फिल्मका लागि नेगेटिभ भूमिकामा प्रस्ताव गरे ।

यति ठूला निर्देशकबाट आएको प्रस्तावलाई उनले नकार्न सकेनन् । उनले त्यसमा सहमति जनाए । सन् १९८९ मा उनले ‘अंकुसुम’मार्फत भिलेनका रुपमा फिल्ममा पाइला चाले । पहिलो फिल्ममै भिलेन चरित्रमा देखिएपछि उनी दर्शकमाझ प्रिय बने ।

१९९०मा हिन्दी फिल्ममा पाइला
रामीले कर्नल चिकारा, स्पट नाना, अन्ना, रघु शेट्टी, विट्ठल रावजस्ता सम्झनलायक कैयौं भूमिका निभाए । रामीले सन् १९९० मा फिल्म ‘प्रतिबन्ध’बाट हिन्दी फिल्ममा पाइला चाले । यो उनको तेलुगु फिल्म ‘अंकुसुम’को हिन्दी रिमेक थियो । यसमा उनले ‘स्पट नाना’को भूमिका निभाएका थिए ।

यो फिल्मपछि उनले ‘खुद्दार’, ‘गुण्डा’, ‘वक्त हमारा है’, ‘शपथ’, ‘ऐलान’, ‘दिलवाले’, ‘अंगरक्षक’, ‘हकीकत’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरे ।

कर्नल चिकाराले लोकप्रिय
रामीको भिलेनवाला इम्प्रेसनका अलावा उनको संवादले पनि थिएटरमा ताजी बज्थ्यो । उनले सुनील शेट्टी र अक्षय कुमार स्टारर फिल्म ‘वक्त हमारा है’मा कर्नल चिकाराको भूमिका निभाएका थिए । यो उनको सबैभन्दा सम्झनलायक फिल्ममा पर्दछ । उनले २ सय ५० बढी फिल्ममा भिलेनको भूमिका निभाएका थिए ।

उनी सन् २०१० देखि लिभरको क्यान्सर पीडित बने । उनको सन् २०११ अप्रिल १४ मा हैदराबादको एक अस्पतालमा निधन भयो ।