काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘माया भनेकै यस्तो होला’मार्फत आठ वर्षपछि निर्देशनमा रेखाको कमब्याक हुँदैछ । फिल्ममा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । फिल्ममा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा दिल श्रेष्ठ नायक हुन् । दिलको यो तेस्रो कथानक फिल्म हो । यसअसघि उनले रेखासँग पनि सहकार्य गरिसकेका छन् । ६ वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘हिरो रिटर्न्र्स’मा उनले काम गरेका थिए । उनको डेब्यू फिल्म ‘पर्खि राख है’ हो ।
‘म यो बीचमा फिल्ममा काम नगरे पनि निरन्तर अपडेट छु । म फिल्ममा काम गरौँ वा नगरौँ, यो क्षेत्रबाट टाढा हुन सक्दिनँ,’ दिल भन्छन्, ‘यो पटक मैले अघिल्ला फिल्महरूमा गरेको कमजोरीलाई परिमार्जन गर्दै काम गरेको छु ।’
फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । यो फिल्म भदौ २६ गते, तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउँदैछ । फिल्मलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन छ ।




