काठमाडौँ । नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु फिल्म ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए ।
लघु फिल्मको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु फिल्मको निर्देशन गरिसकेका छन् । कार्यकारी उत्पादक भण्डारीले अन्य लघु फिल्ममा गीत तथा कथा लेखेका छन् ।
पवन बस्यालको कथा लेखन रहेको फिल्ममा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।
नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरू विदेशिन बाध्य भएको विषयवस्तु फिल्ममा उतारिएको छ । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका छन् ।






