विवाहको १४ महिनापछि अलग्गिए ब्रिटनी र साम

लसएन्जल्स(एजेन्सी) । अमेरिकी पपस्टार ब्रिटनी स्पीयर्स र उनका पति साम असगरी विवाहको १४ महिनापछि अलग्गिएका छन् । अमेरिकी सञ्चारमाध्यमले उनीहरु अलग्गिएको समाचारमा उल्लेख गरेका छन् ।

यो जोडीको भेट सन् २०१६ मा स्पीयर्सको म्यूजिक भिडियोको सेटमा भएको थियो । त्यसपछि उनीहरुले सन् २०२२ मा एक सानो तर स्टारले भरिएको समारोहमा विवाह गरेका थिए ।

असगरी उमेरले २९ र स्पीयर्स ४१ का छन् । असगरीले ब्रिटनीको मानसिक स्वास्थ्यको उपचार र ब्रिटनीको पिताको सरंक्षकत्वबाट ब्रिटनीलाई स्वतन्त्र बनाउनका लागि सहयोग गरेका थिए ।

अहिले अमेरिकी सञ्चारमाध्यममा उनीहरुको वैवाहिक सम्बन्ध बिग्रिएको समाचारले स्थान पाइरहेका छन् । यस विषयमा दुवैका आधिकारिक प्रतिनिधित्वले केही प्रतिक्रिया दिएका छैनन् ।

टीएमजेटले पहिलोपटक उनीहरुको सम्बन्धमा आएको दरारबारे समाचार ब्रेक गरेको थियो । एसोसिएट प्रेस समाचार एजेन्सीलाई स्रोतले असगरीले सम्बन्धविच्छेदका लागि निवेदन दिएको बताएको छ ।

इरानियन–अमेरिकी मोडल सामले स्पीयर्सलाई उनको गीत ‘स्लम्बर पार्टी’को भिडियो सुटिङका बेला भेटेका थिए ।

ब्रिटनी आफ्नो पिता जेमीको संरक्षकत्वमा रहँदा उनलाई स्वतन्त्र बनाउन सामले महत्वपूर्ण भूमिका खेलेका थिए । अदालती सुनुवाई अघि उनले ‘फ्रि ब्रिटनी’ अंकित टीसर्टलाई इन्टाग्राममा प्रचार गरेका थिए ।

असगरीले सन् २०२१ को सेप्टेम्बरमा स्पेयर्सलाई उनकै घरमा प्रस्ताव राखेका थिए । उनीहरु इन्गेज्ड भएको दिन आफूहरु पहिलो सन्तानको अभिभावक बन्न लागेको घोषणा गरेका थिए । तर पछि उनीहरुले नै गर्भपात भएको खुलाएका थिए ।

क्यालिफोर्नियास्थित थाउजेण्ड ओएकमा रहेको ब्रिटनीको घरमा पेरिस हिल्टन, मेडोना र ड्रीउ बेरीमोर जस्ता सेलिब्रेटीको उपस्थितिमा उनीहरुको विवाह भएको थियो । तर हालै यो जोडी सार्वजनिक रुपमा हातमा विवाहको औठी नलगाई उपस्थित भएका थिए ।

स्पीयर्सले सामाजिक सञ्जालमा सम्बन्धविच्छेदको विषयमा केही लेखेकी छैनन् । उनको पछिल्लो इन्स्टाग्राम पोस्टमा घोडा किन्ने योजनाबारे लेखेकी छन् ।

स्पीयर्सले आफ्नो संस्मरण ‘द वुमन इन मी’ सार्वजनिक गर्ने तयारी भइरहँदा सामसँगको सम्बन्धविच्छेदको कुरा बाहिर आएको हो ।
ब्रिटनीले सामअघि उनको बाल्यकालका साथी जेसन एलेक्जेन्डरसँग सन् २००४मा विवाह गरेकी थिइन् । उनीहरुको विवाह केवल ५५ घण्टासम्म मात्र टिक्यो । त्यसपछि सन् २००४ मै उनले र्‍यापर केभिन फेडेरलाइनसँग विवाह गरिन् । फेडेरलाइनसँग उनले सन् २००७ सम्म वैवाहिक सम्बन्धलाई निरन्तरता दिइन् । केभिनबाट उनको दुई सन्तान छन् ।