ग्रामिण चलचित्र महोत्सवमा कोशेढुंगालाई चार अवार्ड

काठमाडौं । सेलिब्रेटी नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा सर्लाहीमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा फिल्म प्रदर्शन गरिएको थियो। महोत्सवमा फिल्म ‘कोशेढुंगा’ले सर्वाधिक चार अवार्ड जितेको छ ।

फिल्मका लागि सुरक्षा पन्तले ‘उत्कृष्ट अभिनेत्री’, मन्जिल कुमारले ‘इन्करेजमेन्ट अवार्ड’, नहकुल खड्काले ‘उत्कृष्ट सम्पादक’ र बाबु श्रेष्ठले ‘उत्कृष्ट छायाकार’को अवार्ड जिते ।

पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवको पाँचौँ संस्करणले मधेशमा नेपाली फिल्मको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको आयोजकले जनाएको छ ।

महोत्सवमा ‘मोहर’ले ‘उत्कृस्ट फिल्म’, यही फिल्मबाट ओमप्रतिक गुरुङले ‘उत्कृष्ट निर्देशक’, ‘गुन्युचोलो’बाट नाजिर हुसेनले ‘उत्कृस्ट अभिनेता’, ‘गुन्युचोलो’बाटै समुन्द्र भट्ट र नाजिर हुसेनले ‘उत्कृष्ट स्क्रिनप्ले’, ‘माइतीघर’बाट निर्देशक मिलन तामाङले ‘जुरी अवार्ड’, ‘नाक्छोङ’बाट निर्देशक किरण राईले ‘उत्कृष्ट आदिवासी फिल्म’ र ‘निलो आकाश’बाट निर्देशक निर्मल पौडेलले ‘उत्कृष्ट सर्ट फिल्म’को अवार्ड जिते ।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथी थिए। कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना गर्नुले स्थानीय क्षेत्रको प्रचार–प्रसारमा ठूलो योगदान पुगेको बताए ।

कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी तथा हरिपुर नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो। चन्द्रनगर गाउँपालिकाको नाढीतालमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा स्रष्टाहरूलाई पुरस्कार वितरण गरिएको थियो।