वर्ल्ड बुक अफ रेकर्डस् लन्डनबाट रोजिन सम्मानित

काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनले नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मान गरेको छ। नेपालका फेसन, प्याजेन्ट्री तथा मोडलिङ क्षेत्रमा उनले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो। संस्थाले मञ्चीय अभिव्यक्ति, रनवे कोरियोग्राफी तथा प्रभावकारी प्रस्तुतिको माध्यमबाट प्रदर्शन र प्रस्तुति बीचको दूरीलाई कुशलतापूर्वक जोड्ने उनको आर्ट अफ मुभमेन्ट र पावर अफ स्पिचको संयोजनलाई प्रशंसा गरिएको छ। उक्त सम्मान सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा सम्पन्न २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहमा प्रदान गरिएको हो ।

रोजिन दुई दशकभन्दा बढी समयदेखि फेसन कोरियोग्राफी, ब्युटी प्याजेन्ट प्रशिक्षण, कार्यक्रम सञ्चालन, टेलिभिजन मिडिया, भ्वाइस–ओभर कला, फेसन पत्रकारिता तथा व्यावसायिक शिक्षणजस्ता विविध क्षेत्रमा सक्रिय छन्। उनले हालसम्म झण्डै १,४०० कार्यक्रमहरूको कोरियोग्राफी तथा समन्वय गरिसकेका छन्, जसमा ३०० भन्दा बढी फेसन शो तथा थुप्रै सौन्दर्य प्रतियोगिताहरू समावेश छन्।

उनका अन्तर्राष्ट्रिय संलग्नताहरूमा मिस मरमेड सिङ्गापुर, हेरिटेज प्याजेन्ट्स, अन्तर्राष्ट्रिय फेसन प्रतियोगिता मोडल सुपरस्टार, तथा सांस्कृतिक महत्व बोकेको मिस तामाङ वर्ल्ड जस्ता कार्यक्रमहरू समावेश छन्। साथै उनले मिसेस नेपाल अष्ट्रेलिया २०२५ का आधिकारिक कोरियोग्राफरका रूपमा काम गरेका छन् ।

उनलाई सन् २०१८ मा आयोजित इन्टरनेशनल प्रेसटिज ब्रान्ड अवार्ड मा बेस्ट इन्टरप्रेन्योर इन मल्टिटास्क पर्सनालिटी अफ द इयर उपाधि प्रदान गरिएको थियो। सन् २०१९ मा काठमाडौंमा आयोजित नेशनल युथ लिड अवार्ड मा उनी मिस्टर भर्साटाइल अफ द इयरका रूपमा सम्मानित भए। सोही वर्ष उनले इन्टरनेशनल एक्सिलेन्स अवार्डमा आउटस्ट्यान्डिङ इन्टरनेशनल कोरियोग्राफर एक्सिलेन्स अवार्ड तथा इन्टरनेशनल प्रोफेशनल अचिभमेन्ट अवार्ड मा इन्टरनेशनल प्रोफेशनल फेसन कोरियोग्राफर अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए।

सन् २०१९ मा काठमाडौंमा आयोजित प्याजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डमा उनलाई लेजन्डरी फेसन कोरियोग्राफरको उपाधि प्रदान गरिएको थियो। सन् २०२० मा आयोजित फेसनफेयर अवार्ड मा उनी बेस्ट इन्टरनेशनल नेपाली फेसन कोरियोग्राफरका रूपमा सम्मानित भए भने सोही वर्षको मोडल सङ्स अवार्डमा बेस्ट फेसन कोरियोग्राफरको उपाधि प्राप्त गरे। सन् २०२२ मा नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा उनलाई आइकोनिक फेसन कोरियोग्राफरको उपाधि प्रदान गरियो भने दुबईमा आयोजित एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । सन् २०२३ मा थाइल्यान्डमा आयोजित हेरिटेज इन्टरनेशनल अवार्ड मा उनले “कोरियोग्राफर अफ द इयर” को उपाधि प्राप्त गरे।