थ्री इडियट्स अभिनेता अखिलको निधन

मुम्बई(एजेन्सी) । निर्देशक राजकुमार हिरानी निर्देशित आमिर खान स्टारर ब्लकबस्टर फिल्म ‘थ्री इडियट्स’मा लाइब्रेरियन दुबेको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता अखिल मिश्राको एक दुर्घटनामा निधन भएको छ । उनी ५८ वर्षका थिए ।

अभिनेताका साथी तथा अभिनय प्रशिक्षक कुलविन्दर बख्शीले अखिलको निधनको पुष्टि गरेका छन् । उनका अनुसार अखिलको निधन एक भवनबाट झरेर भएको हो ।

समाचारअनुसार अखिल बालकनीमा केही काम गरिरहेका थिए । त्यही बेला उनको खुट्टा चिप्लिएपछि भवनबाट तल खसेका थिए । उनको मृत्युपछि शवलाई पोस्टमार्टमका लागि लगिएको थियो ।

अखिलको परिवारमा श्रीमति सुजैन बर्नट छिन्, जो एक जर्मन अभिनेत्री हुन्् । अखिलको निधन हुँदा सुजैन हैदराबादमा थिइन् । ‘मेरो हृदय टुटेको छ, मेरो जीवन साथी सदाका लागि बिदा भयो’, उनले भनेकी छन् ।

अखिलले बलिउडका धेरै फिल्ममा अभिनय गरेका छन् । उनले ‘भँवर’, ‘उतरन’, ‘उडान’, ‘सीआईडी’, ‘श्रीमान श्रीमति’, ‘भारत एक खोज’, ‘रजनी’ जस्ता शोमा अभिनय गरेका थिए । फिल्मको कुरा गर्दा ‘डन अब्बा’, ‘हजारों ख्वाहिशें ऐसी’ र ‘थ्री इडियट्स’मा काम गरेका थिए ।

फिल्म उद्योगमा लामो समय काम गरे पनि उनले पहिचान भने ‘थ्री इडियट्स’ को लाइब्रेरियन दुबेबाट पाए । सिरियल ‘उतरन’मा उमेद सिंह बुदेलाको भूमिकामा अभिनय गरेर चर्चा पाएका थिए ।