हरिवंशको हामी नेपाली, हाम्रो खेलाडी

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ ल्याएका हुन् । स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् ।

नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए ।

‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’

गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुइ–चारवटा गीतहरु पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने ।

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईहरुले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए ।

श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकरको रहेको यो गीतको रेकर्डिस्ट रन्जन राई हुन् । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।