बर र पिपलु बने विपिन र केकी

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले फिल्मको कथासार बुझाउने गीत सार्वजनिक गरिएको हो ।

संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर छ । उनीहरू नेपाल आइडलका विजेता हुन् । गंगाले यही फिल्मबाट नेपाली फिल्मको पार्श्व गायनमा डेव्यु गरेकी छन् ।

पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नव विवाहित जोडीको भूमिकामा देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा विपिन र केकीको प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । केकी र विपीनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले अभिनय गरेका छन् ।

निर्देशक लक्ष्मणका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरको छ । फिल्म आगामी जेठ ८ गतबाट देशभर प्रदर्शन हुनेछ । प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन छ ।

फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, कविराज गहतराजको नृत्य छ । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।