हङकङमा सुनिए चन्द्रका कविता

काठमाडौं । राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका कवि चन्द्र रानाहँछाले हङकङमा आफ्ना कविता सुनाएका छन् । हङकङ साहित्यिक साझा शृङ्खला हङकङको आयोजना र एक्स गोर्खा रेष्टुरेन्ट एन्ड बार हङकङको निमन्त्रणमा त्यहाँ पुगेका कवि चन्द्रले गत अप्रिल १ मा आफ्ना कविता सुनाएका हुन् । यो कार्यक्रमपछि उनी बगैंचा पार्टी प्यालेस जोर्डन हङकङमा पनि सुनिए ।

रीता गुरुङको प्रमुख आतिथ्यता र कवि तथा हङकङ साहित्य साझा श्रृंखलाका अध्यक्ष डिबी पालुङ्वाको सभापतित्वमा भएको कविता वाचनमा रानाहँछाले १३ कविता वाचन गरेका थिए । ‘आमाको छायाँ’ कविताबाट कविता वाचन सुरु गरेका चन्द्रले केही समयअघि दिवंगत भएका साहित्यकार इन्द्रबहादुर राईलाई समर्पण गर्दै ‘इन्द्रबहादुर राई दुई शब्द’ कविता सुनाएका थिए ।

उनले ‘छुट्दा छुट्दै बैरागी काइँला’, ‘आँधीको यात्रा’, ‘प्रश्व नदीलाई’, ‘ईश्वरको सवारी’, ‘तिमीलाई एक्कासी भेटेपछि’, ‘आदिवासी बुबा’लगायतका कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि डिबी पालुङवाले चन्द्रकै एक कविता वाचन गर्दा गायक सचिन राईले चन्द्रको गीत र आफ्ना केही गीत प्रस्तुत गरेका थिए । चन्द्रले हालसम्म ‘मनमा आँधी चलेपछि’, ‘भाउजू लडेको भीर’, ‘थिबिया चराको गीत’ जस्ता कविता कृति प्रकाशन गरिसकेका छन् ।