कुमारको जीवन संघर्षमा तीन देशको कथा

काठमाडौं । थाइल्याण्डमा बस्दै आएका युवा लेखक कुमार कार्कीको नयाँ कृति ‘जीवन संघर्ष’ सार्वजनिक भएको छ । बर्मा, थाइल्याण्ड र नेपालको कथा समावेश गरिएको पुस्तक समावेश छ ।  राजधानीमा बुधबार संस्कृतिविद सत्यमोहन जोशी, अभिनेता राजेश हमाल, पुस्तकका सम्पादक रमेश खड्का, समिक्षक तथा सञ्चारविज्ञ प्राडा रामकृष्ण रेग्मी, समीक्षक एवं आध्यात्मिक गुरु चिन्तामणि योगी, अभिनेत्री भुवन चन्द र लेखक कार्कीले पुस्तक सार्वजनिक गरे ।

संस्कृतिविद जोशीले पुस्तक नेपाली डायस्पोराको सांस्कृतिक चित्र रहेको बताए । ‘हामी जहाँ भए पनि हामी नेपाली हौ । यो विचारलाई पुस्तकले अनुसरन गरेको छ ।’ उनले भने । पुस्तकका सम्पादक खड्काले पुस्तकको सम्पादन गर्दाताका बर्मामा बस्ने नेपालीको बारेमा नजिकसँग बुझ्ने मौका पाएको बताए ।  समीक्षक एवं सञ्चारविज्ञ रेग्मीले पुस्तकले कार्कीको जीवन यात्रालाई फोटो झैं छर्लङ्ग पारेको दाबी गरे । अर्का समिक्षक आध्यात्मिक गुरु योगीले पुस्तकले बर्मामा रहेका नेपालीहरूबीच नेपालीपन बुझ्न सजिलो बनाइदिएको बताए । अभिनेता हमालले पुस्तक विश्वभरका नेपालीले नेपाली हुनुको भावना बुझ्न पढ्नै पर्ने जिकिर गरे ।

अभिनेत्री चन्दले आफू म्यानमारसँग सम्बन्धित रहेकोले पुस्तकसँग सामिप्यता वहन गरेको बताइन् । लेखक कार्कीले आफ्नो जीवनका अनुभवलाई सँगालेर जन्मभूमि र कर्मभूमिसँगै पितृभूमि नेपालप्रतिको प्रेम र सौहार्दतालाई पुस्तकमा उतारेको जनाए । कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनलाई पुस्तकको बिक्रीबाट आएको केही रकम, लेखकको परिवार र थाई नेपाली संघको तर्फबाट पाँच लाख रुपैंयाँ हस्तान्तरण गरिएको थियो । पुस्तकमा बर्मामा नेपालीहरूको प्रवेश, उनीहरूले बर्मामा बसाइसराई, जीविकोपार्जन, नेपाली भेष, भाषा र संस्कृतिको जगेर्नालगायतका विषयहरु समेटिएको छ । बर्मामा हाल करिब तीन लाख र थाइल्याण्डमा करिब १ लाख नेपाली बसोबासरत छन् ।

चार भागमा बाँडिएको पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवात, दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाईल्याण्डमा गरेका दुःख र संघर्ष, तेस्रो खण्डमा थाईल्याण्डमा नेपालीहरूको संगठित प्रयास तथा चौथो खण्डमा नेपालमा महाभूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका सामग्रीहरू समावेश छन् । लेखक कार्कीका अनुसार मिडिया सर्भिस नेपालले प्रकाशन गरेको यो पुस्तक यसअघि बर्मा र थाईल्याण्डमा विमोचन भइसकेको छ । कार्की थाई नेपाली संघको वर्तमान अध्यक्ष हुन् ।