डन्डीबियो खेलाउन खगेन्द्रको यस्तो संघर्ष

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले वास्तविक जीवनमा डन्डीबियो खेले या खेलेनन्, त्यो उनै जानुन् । तर नेपालको पूर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित फिल्म ‘डमरुको डन्डीबियो’मा भने दर्शकले खगेन्द्रलाई भरपुर मात्रामा डन्डीबियो खेलेको देख्न पाउनेछन् । फिल्मको सार्वजनिक ट्रेलरमा खगेन्द्रले डन्डीबियो खेल सिकाउन गाउँ फर्किएको एक युवाको संघर्षलाई देखाइएको छ ।

फिल्म लेखक छेतेन गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममा अभिनेता अनुप बराललाई डन्डीबियोको प्रशिक्षकका रुपमा देखाइएको छ । ट्रेलरमा खगेन्द्रले बोलेको संवादलाई अनुमान लगाउँदा अनुप डन्डीबियोबाट हतास बनेका खेलाडीको भूमिकामा रहेको प्रष्ट बुझ्न सकिन्छ । फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

वैशाख २१ गतेबाट प्रदर्शनमा आउने फिल्मले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । राजधानीका केहि स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले फिल्मको प्रचार र डन्डीबियो महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ ।  समृद्दी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको लगानी छ । फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।