काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेराः घर नं २’ मा ठूलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताएका छन् ।
फिल्ममा धेरै पात्रको कथा रहेको तर त्यसको उठान र बैठान सरल र कुशल रहेको खगेन्द्रको दाबी छ । उनी आफैँ पनि सबै पात्रको सहज ल्यान्डिङ देखेर छक्क परेको बताएका छन् ।
‘म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा हुन्छु । तर यो फिल्ममा त्यस्तो छैन,’ उनले भने, ‘यसमा लेखकले लेख्दा पनि धेरै काम भएको होला । निर्देशकले पनि यसमा काम गरेको देखिन्छ, जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ ।’
उनले यो फिल्ममा अचानक काम गरेको बताएका छन् । फिल्म ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के खनालले यो क्यारेक्टरमा तपाईंबाहेक अरु कोही पनि हुँदैन भनेपछि आबद्ध भएको उनको भनाइ छ । अरु निर्देशकले बोलाएको भए सायद नगर्ने उनले बताए । दीपेन्द्रसँग छुट्टै खालको बन्डिङ भएको उनले बताए ।
‘दिउँसो ‘के घर के डेराः घर नं २’मा काम गरेर राति राति विमानको काम गर्थें,’उनले भने । क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले आफूले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशकमा छोडिदिएको अभिनेता खगेन्द्रले स्मरण गरे ।
‘म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन,’ उनले भने, ‘मैले यो कुरा निर्देशकलाई भनेको थिएँ । उहाँले जसरी काम लगाउनुभयो, मैले त्यसैगरी डिरेक्टर एक्टर भएर काम गरेको हुँ ।’
‘दिमाग खराब’मा पनि आफूले यसैगरी काम गरेको उनले स्मरण गरे । त्यसैले यही दुई फिल्ममा आफूले गरेको कामको श्रेय पनि निर्देशकलाई जाने उनको भनाइ छ ।
‘के घर के डेराः घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।