काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली फिल्म क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिल्म क्षेत्रको माग बमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए । उनले फिल्मकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो । ‘त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छाैं । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधँै सकारात्मक र सहयोगी छौँ ।’
बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सो अवसरमा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । उनले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूूहरू राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको स्पष्ट गरे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए ।