मुम्बई(एजेन्सी) । बलिउडमा यस्ता कैयौं अनुहार छन्, जसले आफ्नो खलनायक अभिनयले दर्शकको मनमा अमिट छाप छोडेका छन् । तीमध्ये प्रेम चोपडा एक हुन् ।
सन् ७० र ८० को दशकमा उनको खलनायकीले उनलाई भारतीय फिल्मको एक आइकनिक अनुहार बनाइदिएको थियो ।
‘प्रेम नाम है मेरो, प्रेम चोपडा’, यो संवाद आज पनि फिल्म प्रेमीको जिब्रोमा झुण्डिएकै छ ।
प्रेमको जन्म सन् १९३५, सेप्टेम्बर २३ मा लाहोरमा भएको थियो । भारत पाकिस्तान विभाजन पछि उनको परिवार भारत आयो र उनले सिमलाबाट आफ्नो पढाई पुरा गरे ।
सिमला र नयाँदिल्लीमा सानोतिनो काम गर्दै आएका उनको दृष्टि मुम्बईमा थियो र त्यो दृष्टिको उद्देश्य थियो, फिल्ममा अभिनय गर्ने ।
फिल्ममा उनको प्रवेश एक संयोग थियो । मुम्बईको स्थानीय रेलमा यात्रा गरिरहँदा उनलाई कुनै अन्जान व्यक्ति(कृष्ण कुमारका प्रोडक्सन कन्ट्रोलर)ले उनलाई फिल्मका काम गर्न सुझाव दिए । त्यो समयमा प्रेम मुम्बईमा टाइम्स अफ इण्डियाको सर्कुलेसन डिपार्टमेन्टमा काम गर्थे ।
प्रेमले सन् १९६० मा पञ्जाबी फिल्म ‘चौधरी करनेल सिंहबाट अभिनय यात्रा सुरुवात गरे, जुन काम उनले तिनै अन्जान व्यक्तिबाट गरे । तर हिन्दी फिल्ममा उनको वास्तविक पहिचान खलनायक रुपमा भयो ।
‘तिसरी मञ्जिल’, ‘बबी’, ‘कटी पतंग’ र ‘दो रास्ते’ जस्ता फिल्ममा उनको भूमिकाले दर्शकबीच एक खतरनाक खलनायकका रुपमा स्थापित गर्यो ।
गहिरो स्वर, लामो कोठी, कुटिल मुस्कान र आँखाको हेराईले उनको भूमिकालाई सबैमाझ प्रिय बनाइदियो ।
उनी मुम्बईको पाली हिलमा ५६ वर्षदेखि बस्दै आएका छन् । उनको विवाह राज कपूरको साली उमासँग भएको हो ।
प्रेमका अनुसार उनको सफलता पछाडिको रहस्य मेहनत र समर्पण नै हो । उनले हरेक भूमिकालाई गहिरोसँग बुझे र त्यसलाई पर्दामा उतारे । ‘उपकार’ र ‘दोस्ताना’ जस्ता फिल्ममा उनको भूमिकाले एक खलनायक पनि कथाको अभिन्न हिस्सा हुनसक्छ भन्ने स्थापित गरेको छ ।
९० वर्षको उमेर पुग्दै गरेका प्रेम पहिलोजस्तै खुशी छन् । उनले हालैका वर्षहरुमा ‘रकेट सिंह’ र ‘एजेन्ट विनोद’ जस्ता फिल्ममा छोटो तर प्रभावशाली भूमिका निभाए ।