के घर के डेराः घर नं. २– वर्ड अफ माउथले तेस्रो सातामा

काठमाडौं । फिल्म ‘के घर के डेराः घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो फिल्म प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो । निर्माण पक्षका अनुसार फिल्मले तेस्रो सातासम्म आइपुग्दा सकारात्मक वर्ड अफ माउथ पाइरहेको छ ।

आम नेपालीले भोगिरहेको विषयलाई फिल्मले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्माणपक्षको दाबी छ । ‘जति पनि दर्शकले फिल्म हेर्नु भएको छ, सबैले राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,’ निर्देशक दीपेन्द्र के खनालले भने ।

वितरक करण श्रेष्ठका अनुसार ‘के घर के डेराः घर नं २’का शो थपिँदैछन् । राम्रो वर्ड अफ माउथ पाएको फिल्ममा केही हलहरुमा उच्च अकुपेन्सी हुनेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

फिल्मको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको फिल्मको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।