माइतीघर शीर्ष गीतमा उपासना र श्यामाको छमछमी

काठमाडौं । अभिनेत्री माला सिन्हा र अभिनेता सिपी लोहनीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘माइतीघर’को गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो माईतीघर’ नेपाली पाश्र्व संगीतमा सदाबहार गीत मानिन्छ । वि.सं. २०२३ सालमा निर्माण भएको यो फिल्म नेपालमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो फिल्म हो ।

यही फिल्मको नाम सापटी लिएर यतिबेला निर्माता रोहित अधिकारीले फिल्म ‘माइतीघर’ धमाधम निर्माण गरिरहेका छन् । अधिकारीले आफ्नो फिल्ममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’को रिमेक भर्सनलाई समेटेका छन् । गीतको बागलुङ कालिका मन्दिरमा छायांकन भइरहेको छ ।

गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पाको अभिनय छ । परम्परागत भेषभूषामा सजिएकी यी २ कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्ने छन् । निर्माता अधिकारीका अनुसार गीतको मर्म र भाव जीवन्त रहोस् भनेर भारतीय गायिका संजीवनीको स्वरमा यो गीत पुनः ‘माईतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । गीतको छायांकन चार दिन हुने निर्माता अधिकारीले बताए ।

गीतमा किरण खरेलको शब्द र जयदेभको संगीत छ । उपासना र श्यामालाई कोरियोग्राफर कमल राईले नचाइरहेका छन् । फिल्ममा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशन रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।