काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ गत शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भएको छ । २५ जना वाद्यवादकसहित डेढ दर्जन गायकगायिकाले गीतकार तामाङका शब्द रहेका गीत सुनाएका थिए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दर्शकहरु गीतमा झुमेका थिए ।
कार्यक्रममा गायकगायिकाले गीतकार तामाङका १७ वटा गीत सुनाएका थिए । जसअनुसार किरण प्रधानले ‘नेपाल मेरो घर’, शिव परियारले ‘आमा’, डेबिट शंकरले ‘स्वर्ग सुख’, रुपक चौधरीले ‘मीठा मीठा बोली’, सत्यराज आचार्यले ‘जित्नेहरुको पनि’, स्वरुपराज आचार्यले ‘आफ्नै धड्कन’, संगीता राना प्रधानले ‘मन पर्छ’, प्रदीपराज पाण्डेले ‘अल्झिरह्यो याद’, कन्काइष्ट राईले ‘नजिक यति भएर पनि’ र ‘जन्मिखेली’, सञ्जय तुम्रोक र सुमिना लोले ‘तिमी सागर’, अन्जु पन्तले ‘तिमीलाई पराईको’ र ‘अँगालोमा बेरिरहुँ’, सञ्जय तुम्रोकले ‘मै खुकुरी’, रेश्मा बमजन ‘माथि माथि लेकमा’, अस्मिता अधिकारीले ‘जोर मादलको तालैमा’, प्रल्हाद तिमिल्सिना र सुमिना लोलेले ‘स्वर्ग झैं सैलुङ्ग’ गीत गाएका थिए ।
संगीतकार अशोककुमार राईको संगीत संयोजन रहेको कार्यक्रममा मनोहर सुनाम भ्वाइलिन संयोजक, शिलाबहादुर मोक्तान किबोर्ड, भरत बुढाथोकी तालवादन संयोजक थिए । वाद्यवादनमा भ्वाइलिनतर्फ मोहनकृष्ण ढली, किशोर कार्की ढली, रविन कार्की ढली, नारायण कार्की ढली, रोमन बुढाथोकी, बिकासनाथ योगी, बाँसुरीतर्फ गोपाल देव घतानी र धनबहादुर गुरुङ, तालबादनतर्फ कुमार महाराज, मेघराज लुङ्गेली, अनिल थापा, पोषण धर्ती, गिटारतर्फ देव राई, सञ्जिव लिम्बु, दिपेश श्रेष्ठ, सितारमा सिता मैया राहचल, सारङ्गीमा भरत नेपाली, प्याड ड्रममा भुपेन्द्र रसाइली, ब्रासतर्फ रुद्र परियार, पूर्ण नेपाली र तेज तामाङ रहेका थिए ।
कार्यक्रममा गीतकार तामाङले गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ गीतकार टेक तामाङ सांगीतिक साँझले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले गीतकारको सांगीतिक साँझ ऐतिहासिक बनेको बताए । आयोजक संस्थाका अध्यक्ष एवमं कार्यक्रम व्यवस्थापन समितिका संयोजक वसन्त वित्यासी थापाले कार्यक्रमले सामाजिक सशक्तिकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने बताए ।