काठमाडौं । नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’ सुरु भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ शुक्रबार राजधानीमा भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा कृषि मन्त्री रामनाथ अधिकारीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य, अभिनेता सरोज खनाल, पूर्व सांसद मानकुमारी गुरुङ, पूर्व डिआइजी डा. देउती गुरुङ, जिनोपेका प्रमुख कार्यकारी अधिकृत प्रिजम प्रधान, आयोजक टोलीका शानु खान, रबीलामा तामाङ, केशव थापा तथा नेपाल आइडल २०१७ का विजेता बुद्ध लामालगायतको उपस्थिति थियो ।
एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गरेकी थिइन् । ‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याउने उद्देश्य बोकेको छ ।
कार्यक्रमलाई सफल बनाउन समाजसेवी, व्यवसायी, राजनीतिज्ञ तथा चलचित्र ‘हिमालकी रानी’की नायिका शान्ताकुमारी तामाङको प्रेरणादायी नेतृत्व महत्वपूर्ण रहँदै आएको छ । उनी जुम्बा क्विन २०१५ र मिसेस नेपाल आइकन २०१५ की उपविजेतासमेत हुन् ।
शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुन् र आदिवासी जनजाति तथा महिलाहरूको सशक्तिकरणमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन् ।






