सुम्निमामा मिलनसँग अनुपको चौथो सहकार्य

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित फिल्म ‘सुम्निमा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन्।

यो फिल्ममार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो।

अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्मको नाम सुन्दा नारीप्रधान लागे पनि फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिए।

फिल्ममा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको काम अझै जारी रहेको चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्ने यो फिल्मको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ।