काठमाडौं । फिल्म ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक फिल्म हो । महिला चरित्रले यो फिल्म लिड गर्नेछ । यसको थिम पोस्टरले नै यो संकेत गरिसकेको थियो । पोस्टर र गीतले पनि यसलाई प्रष्ट पारिसकेको छ । सुरक्षाको अपोजिटमा को छ ? पोस्टर र टिजरमा सुरक्षाको अपोजिटमा को छ भन्ने देखाइसकेको छ ।
निर्माण टिमले केही दिन अगाडि सार्वजनिक गरेको प्रेमिल गीत ‘भंगेरा भगेरी’सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा हिट छ । यी दुवै गीतमा सुरक्षाको अपोजिटमा नयाँ अनुहार देख्न सकिन्छ ।
त्यो नयाँ अनुहार मन्जिल कुमारको हो । जसले ‘कोशेढुंगा’मा सुरक्षाको जोडी भएर स्क्रिन सेयर गर्दैछन् । केही नाटकमा अभिनय गरेका उनले यो फिल्ममा लिड रोलमा काम गरेका छन् । गाउँले भूमिकामा उनी फिट देखिएका छन् ।
‘अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो फिल्ममा अभिनय गरेँ,’ मन्जिल भन्छन्, ‘ऐतिहासिक फिल्मका निर्देशक र अब्बल र अनुभवी कलाकारसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।’
आफूले दर्शकलाई नबिजाउने खालको अभिनय गरेको उनको दाबी छ । अनुभवी र सफल निर्देशक तथा कलाकारसँग आफूले सहकार्य गर्ने मौका पाएको बताउँदै उनले सक्दो प्रयास गरेका बताए ।
सरोज पौडेलको निर्देशन रहेको फिल्म भदौ १२ गते रिलिज हुँदैछ । फिल्ममामा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।






