काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरु सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ष्ठ, संगीतकार तथा प्राध्यापक दिपक जंगम, निर्देशक तथा कलाकार दिपाश्री निरौला, पत्रकार ऋषी धमलालगायतले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीत मध्ये ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन तथा जुना कार्की र गायक बरालको अभिनय रहेको छ ।
यस्तै दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र बिकास चौधरीको संगीत रहेको छ । गीतको भिडियो गीतकार बरालले नै निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ । भिडियोमा बिक्रम डिसीको छायांकन र विकाश धमलाको सम्पादन छ ।
यस्तै तेस्रो गीत ‘टेण्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय रहेको छ । नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन छ ।
गायक बरालले लामो समयपछि आफु मुलधारको संगीतमा फर्किएको बताए । ३५ वर्ष देखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफु फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताए ।
मदनकृष्णले आफुलाई मन पर्ने आवाज मध्येको एक यम बरालको भएको बताए । श्रीमतिलाई गुमाएपछि आफु प्रायः भावुक रहने गरेको भन्दै कलाकार श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए ।







