काठमाडौं । गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको फिल्म भाईरल गोर्खे’का प्रमुख कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ फिल्मको प्रमोसनका लागि मोफसल दौडाहामा छन् । आइतबार मोफसलको ठुलो सहर कास्कीको पोखरा पुगेको निर्माण टिमले सोमबार चितवनमा दर्शकसँग साक्षात्कार गरेको छ ।
टोलीमा निर्माता निर्माता महेश लामिछाने पनि छन् । निर्माता लामिछानेका अनुसार टोली बुटवल, नेपालगञ्ज, धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोडसम्म पुग्ने योजनामा छ । यसैबीच फिल्मको नयाँ गीत ‘डाँडाकाँडा बन चहारी’ सार्वजनिक भएको छ । गीतमा रोहित शाक्यको संगीत तथा जसोन कुँवरको शब्द अनि त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सामाजिक सञ्जाल टिकटकमा भाईरल पात्र गुमनाम भएपछिको अवस्थालाई चित्रण गरिएको छ ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।







