काठमाडौं । गायक तथा र्यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत सार्वजनिक गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा कुशलले गीत गाएपछि भिडियो सार्वजनिक गरिएको हो ।
कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायत कलाकारले प्रस्तुति दिएका थिए । कन्सर्टमा पाँच हजारभन्दा बढी दर्शकको उपस्थिति थियो ।
सार्वजनिक गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ । गीतमा सङ्गीत निर्माण चर्चिल भुसालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ केपासले गरेका छन् । गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् । झोलेइज्मको निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको भिडिओमा जेस्टीको कोरियोग्राफी रहेको छ । भिडिओमा जेनिश महर्जन छायाँकार र ऋषिक प्रधान रचनात्मक निर्देशकका रूपमा संलग्न छन् ।
कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिएकी थिइन् । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ, जहाँ फिल्मसँग सम्बन्धित गायक गायिकाले प्रस्तुति दिनेछन् ।
फिल्मको केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित फिल्मले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ । यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् । फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय रहेको छ ।







