तनहुँमा विकास बोर्डको सिनेमा साक्षात्कार

तनहुँ । चलचित्र विकास बोर्डको आयोजनामा तनहुँमा पाँच दिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम सुरु भएको छ। माघ २ गतेदेखि प्रारम्भ भएको यस कार्यक्रम अन्तर्गत फिल्म हल नपुगेका स्थानमा घुम्ती फिल्म प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी छलफल, साथै विद्यार्थीसँग चलचित्रकर्मी संवाद कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रम म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा व्यास नगरपालिकाका केही वडाहरूमा सञ्चालन भइरहेको छ। कार्यक्रमअन्तर्गत नेपाली फिल्म ‘कोसेढुंगा’, ‘रंगी’ तथा सट फिल्म ‘खुशी’ प्रदर्शन गरिएको छ, जसले स्थानीय दर्शकहरूमा नेपाली फिल्मप्रतिको उत्साह, चासो र सहभागिता उल्लेखनीय रूपमा बढाएको छ।

कार्यक्रममा फिल्म ‘कोसेढुंगा’ का निर्माता तथा कलाकार दिनेश खड्का, फिल्म लेखक तथा निर्देशक जनक खड्का, फिल्म व्यवस्थापक सुवासराज काफ्ले, फिल्म सम्पादक तथा ड्रोन पाइलट नहकुल खड्का, चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलालगायतको टोलीले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले फिल्मकर्मीहरूसँग संवाद गर्दै फिल्ममार्फत पर्यटन प्रवर्द्धन गर्न स्थानीय तह सधैँ सकारात्मक र प्रतिबद्ध रहेको बताए। उनले पालिकाभित्र रहेका पर्यटन सम्भावना भएका स्थान तथा फिल्म छायांकन स्थलहरूको विकास, संरक्षण र प्रवर्द्धनका लागि नीति तथा बजेटमार्फत धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।