बुटवल। आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को प्रचारप्रसार बुटवलबाट शुरु भएको छ। बुटवलमा बिहीबार एक कार्यक्रमका बीच निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले प्रचारप्रसार शुरु गरेको हो। बुटवल जेसिससँगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेसहित जेसिसका व्यक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर र गीतसंगीत हेरिएको थियो ।
ट्रेलर हेरेपछि नगर प्रमुख पाण्डेले हालको बर्तमान परिश्थितिलाई नजिकबाट नियाली बनाइएको फिल्म भएकाले सबै युवावर्ग परिवार र देशका नेतृत्व गर्नेहरुले हेर्नै पर्ने फिल्म बनेको प्रतिक्रिया दिए । माघ २८ र २९ गते अनलाईन बुकिङ्ग खुल्ने फिल्मको बुटवलमा एक औपचारिक कार्यक्रम गर्दै स्थानिय बुद्धिजीवी र सरोकारवालाहरुलाई फिल्मबारे बताइएको निर्माता दिनेश कोइरालाले बताए। फिल्म जेन्जी आन्दोलन अगाडि नै निर्माण भएपनि आफुहरुको सोच जस्तै देशमा आमुल परिबर्तनको कुरा फिल्ममा देख्न पाइने बताएका छन्।
निर्देशक कोइरालाले फिल्मको कथाबस्तु देखि अभिनय र फिल्ममा निकै मेहनत गरिएकोले सबै परिवारको आफ्नै समाजको यथार्थ कथा फिल्मले बोलेको बताएका छन्। कलाकार नरेन खड्काले फिल्म बिगुलले चुनावको छेकोमा समाजको यथार्थ चित्रण गर्दै नयाँ आयाम ल्याउन बिगुल फुक्ने समेत बताए।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारले अभिनय छ ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन् ।काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट रहेको छ ।







