फ्रेन्च किसमा अर्पणको एक्सन–कट

काठमाडौं । अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।

सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुने फिल्ममा अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो प्रमुख भूमिकामा हुनेछन् । थिन्लेले यसअघि स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् । फिल्ममा गौरी मल्ल र आयशा तामाङको पनि अभिनय रहनेछ ।

फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी शाही छन् । फिल्ममा सुदीप बरालको छायांकन, गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत हुनेछ । फिल्म सन् २०२६ भित्र रिलिज हुने निर्माण पक्षले जनाएको छ ।