गणतन्त्र दिवसमा रोल नं. १

काठमाडौं । फिल्म ‘रोल नं. १’ आगामी वर्ष अर्थात् २०८३ जेठ १५ गते(गणतन्त्र दिवस)को दिन रिलिज हुने भएको छ । शुक्रबार वसन्तपञ्चमीको अवसर पारेर निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका मुख्य बाल–कलाकारहरू अध्ययन गर्ने विद्यालय पाथिक ज्ञान निकेतनमै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

निर्माता विनोद पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । फिल्मको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भइरहेको फिल्म पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित छ । महेश दवाडीको लेखन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् ।

यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने भएको छ ।