डल्बी एट्मस साउण्ड स्टुडियोसँग पाँच पाण्डवको सहकार्य

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को ध्वनिको काम म्युजिक नेपालले नेपालमा सञ्चालनमा ल्याएको डल्बी एट्मस साउण्ड स्टुडियो हुने भएको छ । यो फिल्म नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो फिल्म बनेको छ ।

फिल्मका प्रस्तुतकर्ता नविन श्रेष्ठले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेको बताए । ‘हामी हाम्रा दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रुपमा पनि अब्बल फिल्म दिने छौँ’, उनले भने ।

यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको उनले जानकारी दिए । सम्झौता गर्दा ‘पाँच पाण्डव’का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिति थियो ।

निर्देशक निरौलाले साउन्डमा कम्प्रमाइज नगरेजस्तै अन्य कुनै पनि कुरामा आफूले फिल्म निर्माणमा कम्प्रमाइज नगर्ने बताए । फिल्मको शुभमुहूर्त भइसकेको छ । फिल्ममा हरिवंशसँगै जितु नेपाल, सागर लम्साल (बले), दीपाश्री निरौला र रजनी गुरुङको अभिनय रहनेछ ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल फिल्म ‘प्रसाद’का लेखक समेत हुन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् । केही महिनाभित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।