काठमाडौं । निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। जसितालाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो।
एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा जसिताको जोडी अभिनेता निखिल उप्रेती हुनेछन् । यी दुईबाहेक अन्य कलाकारका बारेमा निर्माण पक्षले केही खुलाएको छैन ।
दुवै पक्षबीच फिल्मका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईँले बताईन्। उनले भनिन्,‘फिल्मको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ।’
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ ।
यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकिय यो फिल्म तेस्रो हुनेछ। फिल्मको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ।







