पश्चिम नेपालमा बिगुलको चर्चा

काठमाडौं । आगामी फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘बिगुल’ को प्रचारप्रशार आक्रामक हुदै गएको छ । फिल्मको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार समापन गरेको छ । केही साताअघि पूर्वी नेपाल पुगेको फिल्मको टिम पश्चिम नेपालको बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपालगंज तथा पोखराका दर्शकसमक्ष पुगेर प्रचारप्रसार गरेको हो ।

पूर्वी नेपालका बिराटनगर,इटहरी,धरान,दमक,बिर्तामोड हुदै हेटौडा र चितवनको टुरपछि गत साता निर्देशक रमेश कोइराला, कथाकार–निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्काले पश्चिम नेपालको यात्रा तय गरेका थिए । दर्शकमाझ पुगी ‘बिगुल’ बारे जानकारी दिदा निकै सकारात्मक प्रतिक्रिया पाएको निर्माता कोइरालाले बताए । ‘हामी जहाँजहाँ पुग्यौं,सबै ठाउँमा दर्शकहरु ‘बिगुल’ हेर्न प्रतिक्षारत रहेको पायौं,’ उनी भन्छन्,‘हामीलाई स्थानीय

लब्धप्रतिष्ठित,संचारकर्मी,नेपाल जेसिसका पदाधिकारीहरु,स्कुल,कलेजलगायत बिभिन्न पेशाकर्मीले निकै साथ दिनु भएको छ । फिल्मले उठाएको जनताको आवाजप्रति उहाँहरु निकै सकारात्मक हुनुहुन्छ ।’

अभिनेता नरेनले ‘बिगुल’ ले हरेक उमेर,बर्ग र समूदायका दर्शकलाई आकर्षित गर्ने विश्वास ब्यक्त गरे । ‘बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपालगंज तथा पोखरा,जहाँजहाँ हामी पुग्यौं,सबैलाई ‘बिगुल’ को कन्टेन्टले ध्यानाकर्षित गरेको पायौं । उहाँहरु फिल्मको प्रतिक्षामा हुनुहुन्छ ।’ निर्देशक कोइरालाले भुँइमान्छेको कथा बोल्ने ‘बिगुल’ प्रति सबै बर्गका दर्शकले चासो देखाएको बताउँदै बर्तमान राजनीति परिस्थितिलाई यथार्थतवरले पर्दामा प्रस्तुत गरिएको प्रति दर्शकहरु अचम्मीत परेको अनुभव सुनाए ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्काका साथमा बेनीशा हमाल,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,नवअभिनेत्री मीरा पण्डित,मानश्री शर्माका साथमा रबिन्द्र खड्काको अभिनय रहेको छ ।