काठमाडौं । छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा छन्द कविता प्रस्तुत गरेकी थिइन् । पलेँटी नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको मञ्च हो । मनग्य प्रचार हुन बाँकी नेपाली छन्द कविता अनेकौं भाकाहरूले भरिएको सुगन्धको खानी हो ।
यसपालीको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छिन् । उनले विभिन्न कविका भिन्न रसका रचनाहरू छान्दै अभ्यास गरिरहेकी छिन् । नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेस पलेँटीमा भूषिताले आफैँले रचेको कविता पनि प्रस्तुत गर्नेछिन् ।
केहीवर्ष पहिले अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन् । अंग्रेजी भाषाका साथै संस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाण्डौ आइपुगेकी छिन् । नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको छ ।
छन्द–पलेँटीलाई नेपालयले एउटा उत्सवका रुपमा लिएको जनाएको छ । यसपालीको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेस हुनेछन् ।
भूषिता बाल्यकालदेखिकै छन्दको माहोलमा हुर्किएकी छन्द–अनुरागी हुन् । उनी छन्द कविताको वाचक मात्र होइनन्ः छन्द साहित्य भित्र रहेको सैदान्तिक र दार्शनिक पक्षलाई पर्गेल्न रुचाउने अध्ययता पनि हुन् । ‘पलेँटी मेरा लागि, आराध्य व्यासासन थियो । त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो न आज । परन्तु, यो सानिध्यले मलाई काव्य साधना गर्न अझ बल दियो । म जति धन्य भएँ, त्यसको अंशमात्र पनि पोख्न पाए, यो काव्यको वसन्त(स्नान सार्थक हुने थियो’, भूषिता भन्छिन् ।
‘पलेँटीलाई दोस्रोपल्ट छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा हाम्रो साङ्गीतिक टिम औधी उत्साहित छ’,ु संगीतकार आभास भन्छन्, ‘झण्डै सात वर्ष पहिले गरेको छन्द(पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति हुन्छ ।’ छन्द पलेँटीको प्रस्तुति यही जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’ शालामा सम्पन्न हुनेछ ।







