द ब्लू लाइटसँग ढुक्क कलाकार

काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ यही शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्ममा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको अभिनय छ ।

बेनिशा यो फिल्मले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन् । ‘अहिले हामीले हेरिरहेका फिल्मभन्दा केही फरक छ,’ बेनिशा भन्छिन्, ‘त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ ।’ बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर फिल्मको विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन् ।

अभिनेत्री श्रृष्टि श्रेष्ठ यस फिल्ममा नेगेटिभ भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर फिल्म ‘११ः५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी छन् ।

कलाकार अपर्ण थापाले यो फिल्म जस्तो फिल्म कमै मात्रै बन्ने बताउँछन् । फिल्ममा बेनिशा, श्रृष्टि र अर्पणका साथै आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

फिल्म बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।