शिवांशमा कैलाश खेरको शिव ताण्डव

काठमाडौं । आगामी फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘शिवांश’ मा भारतीय गायक कैलाश खेरले ‘शिव ताण्डव’बोलको गीत गाएका छन् । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत फिल्ममा रहेको जानकारी दिएको छ ।

पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन् । विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ । पोस्टरमा चक्र र आगो देखिन्छ ।

गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत(नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।

कैलाश फिल्मलाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।